Pura Samachar

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रकाशित: May 15, 2023
पूरा समाचार

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । संघीय सरकारले यही जेठ ५ गते आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । तर, उनले स्वास्थ्यलाभ गरिरहेकाले संसद्मा उपस्थित भएर नीति तथा कार्यक्रम वाचन गर्न सक्छन्/सक्दैनन् भन्ने संशय छ ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन सुरु गर्नेछन् । उनले केही पानामा उल्लिखित कार्यक्रम मात्र प्रस्तुत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम वाचन गर्ने तयारी छ ।

“उहाँको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले वाचन गर्ने तयारी भइरहेको छ,” स्रोतले  भन्यो, “सुरुवातको केही पाना राष्ट्रपतिज्यूले वाचन गर्ने र बाँकी रहेका पाना राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले वाचन गर्ने तयारी भइरहेको छ ।”

राष्ट्रपतिको कार्यालयले भने यसबारेमा अहिले नै प्रतिक्रिया दिन नसकिने जनाएको छ । राष्ट्रपति स्वास्थ्यलाभ गरिरहेकाले उक्त दिनका विषयमा अहिले नै प्रतिक्रिया दिन हतारो हुने शीतलनिवास स्रोतको भनाइ छ ।

“वाचन सम्माननीयज्यूले नै गर्ने हो । स्वास्थ्य भनेको भवितव्य विषय हो,” शीतलनिवास स्रोतले भन्यो ।

राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि केही समयअघि भारतमा उपचार गराएर स्वदेश फर्किएका थिए । नीति तथा कार्यक्रम वाचन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने भएकाले उक्त दिन राष्ट्रपति पौडेलले वाचन गर्न सक्छन् कि सक्दैनन् भन्ने अन्योल बढेको हो ।

प्रतिक्रिया