
इन्डियन प्रिमियर लिग (आइपिएल) मा यसअघिनै प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीसँग पराजित भएसँगै पञ्जाबको पनि प्लेअफ सम्भावना कमजोर बनेको छ।
पञ्जाबलाई उसकै मैदानमा पराजित गर्ने क्रममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा पञ्जाब निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र जोड्न सफल भयो।
दिल्लीको उच्च स्कोरमा राइली रोसोउले विष्फोटक इनिङ खेलेका थिए। उनले ३७ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८२ रनको नटआउट इनिङ खेल्दा उनलाई फिल साल्टले २६ रन बनाएर साथ दिएका थिए। त्यसअघि ओपनरहरु डेभिड वार्नर पृथ्वी साले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरका थिए। कप्तान वार्नर ४६ रनमा आउट हुँदा सा ३८ बलमा ५४ रन बनाएर आउट भए।
२ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि लिम लिभिस्टङले ९४ रनको इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त भएन। उनले ४८ बलमा ९ छक्का र ४ चौका प्रहार गरेका थिए। उनी बाहेक अथर्व टाइडेले ५५ रनको अर्धशतकीय इनिङ खेले। थप दोहोरो रनको स्कोरका रुपमा प्रभसिम्रनले २२ तथा साम कुरानले ११ रन बनाए। दिल्लीका लागि इशान्त शर्मा र अनरिच नोर्तेजले २-२ विकेट लिंदा खलिल अहमद र अक्षर पटेलका नाममा समान १-१ विकेट रह्यो।
जितपछि दिल्लीले १३ खेलमा १० अङ्क बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली यसअघिनै प्लेअफ सम्भावनाबाट बाहिरिंदा पञ्जाबको भने दिल्लीसँगको हारसँगै प्लेअफको गणितीय सम्भावना मात्र बाँकी छ। अब उसले आफ्नो अन्तिम खेल जितेमा पनि १४ अङ्क मात्रै हुने छ। अन्य ४ टिमको फराकिलो हार र अन्तिम खेलमा फराकिलो रनरेट सहितको जितले मात्र पञ्जाब प्लेअफ पुग्ने सम्भावना बाँकी रहन्छ। अहिले १३ खेलबाट १२ अङ्कका साथ ८ औं स्थानमा रहेको छ।
प्रतिक्रिया