Pura Samachar

युरोपियन च्याम्पियन्स लिग: सिटीले उपाधिका लागि इटालियन जायन्ट इन्टरमिलानसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित: May 18, 2023
पूरा समाचार

युरोपियन च्याम्पियन्स लिग:  सिटीले उपाधिका लागि इटालियन जायन्ट इन्टरमिलानसँग प्रतिस्पर्धा गर्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फाइनलमा स्थान पक्का गरेको छ। घरेलु मैदानमा सिटीले बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४-० ले स्तब्ध बनाउँदै समग्रमा ५-१ को रवाफ सहित फाइनल प्रवेश गरेको हो। अब सिटीले उपाधिका लागि इटालियन जायन्ट इन्टरमिलानसँग प्रतिस्पर्धा गर्ने छ।

दोस्रो पटक फाइनल पुगेको सिटी यसअघि २ वर्षअघि अर्को इंग्लिस क्लब चेल्सीसँग उपाधि भिडन्तमा पराजित हुँदा पहिलो च्याम्पियन्स लिगको उपाधि प्रतिक्षा लम्बिएको थियो। साथै सिटीले रियलसँग अघिल्ला २ सेमिफाइनल (२०१६,२०२२)मा व्योहोरेको हारको बदला समेत लिएको छ।

रियल विरुद्ध शीर्ष चारबाटै बाहिरिंदै आएको तो बिगतको अन्त गरेका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि अब सिटीलाई पहिलो च्याम्पियन्स लिग उपाधि दिलाउने चुनौती बाँकी छ। साथै सिटी अब कीर्तिमानी ट्रेबल उपाधि नजिक समेत पुगेको छ। इंग्लिस प्रिमियर लिगको उपाधि भन्दा १ जित टाढा रहेको सिटीले एफए कपको फाइनलमा म्यानयूसँग ३ जनुमा  वेम्बिमा प्रतिस्पर्धा गर्दै छ। उसले दुई उपाधि जितेमा एतिहासिक ट्रेबलको छिनोफानो भने इस्तानबुललेनै तय गर्नै छ।

घरेलु मैदानमा रवाफिलो जित निकाल्नै क्रममा सिटी सुरुवातबाटै रियलमाथि हावी भएको थियो। पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा पनि २ गोल थप्दै घरेलु दर्शकमाझ सानदार लय प्रस्तुत गरेको थियो। सिटीको जितमा बर्नान्डो सिल्भाले दुई गोल गर्दा एडर मिलिटाओले आत्माघाती गोल उपहार दिएका थिए। त्यस्तै चौंथो गोल सब्सटिच्युट अर्जेन्टिनी स्टार जुलियन अल्भारेजको नाममा रह्यो।

घरेलु मैदानमा रियल विरुद्ध ६० प्रतिशत बल पोसेसन राखेको सिटीले ७ सट टार्गेटमा राख्दा ४ गोल गरेको थियो। रियलले भने सिमित अवसरमा गोल गर्न चुक्दा फराकिलो हार भोग्न बाध्य भयो। खेलमा केभिन डि ब्रुएनाको पासमा सिल्भाले २३ औ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल उनले ३७ औ मिनेटमा गर्दा त्यसअघि रियलका टोनि क्रुसको प्रहार क्रसबारमा लाग्दा सम्भावित बराबरीको मौका रियलले गुमाएको थियो।

पहिलो हाफमा २-० ले अघि रहेको सिटीले दोस्रो हाफमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिएको थियो। ७६ औ मिनेटमा म्यानुएल अकान्जीको हेडर एडर मिलिटाओमा डिफ्लेट हुँदै  आत्माघाती गोलमा परिणत भएको थियो। चौंथो गोल इन्जुरी समयमा सब्सटिच्युट अलभारेजले गरे। उनले फिल फोडेनको पासलाई सदुपयोग गर्दा सिटीले ४-० को नतिजा निकालेको थियो।

अब सिटीले च्याम्पियन्स लिगको पहिलो उपाधिका लागि १० जुनमा टर्कीको इस्तानबुलमा इटालिनय क्लब इन्टरमिलानसँग प्रतिस्पर्धा गर्ने छ। मिलानले सहरी प्रतिद्वन्दी एसी मिलानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया