Pura Samachar

हिमालयन शेर्पा क्लबकाे जित ,आर्मी एफसी खुमलटारसँग २-२  गोलको बराबरी

प्रकाशित: May 19, 2023
पूरा समाचार

हिमालयन शेर्पा क्लबकाे जित ,आर्मी एफसी खुमलटारसँग २-२  गोलको बराबरी

काठमाडौं   सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।

हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे ।

एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

१८ औं पिस्टनले गोल गर्दा हिमालयन २-० ले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा अबायोमीले गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा युबराजले गोल गरेपनि एपीएफ ३-२ ले पराजित भयो ।

हिमालयनको यो छैटौं जित हो ।

हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ ।

हिमालयन सातौं स्थानमा रहेको छ।

एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।

एपीएफ ११ औं स्थानमा रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २-२  गोलको बराबरी खेलेको हो ।

आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा आर्मीले बराबरी खेल्नु परेको हो ।

खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा ल्याए  ।

यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।

खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।  खुमलटार पुछारमा रहेको छ।

प्रतिक्रिया