Pura Samachar

आज प्रतिनिधिसभाको बैठक बस्दै,सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रकाशित: May 21, 2023
पूरा समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै,सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

सांसदहरुलाई शुक्रवार दिउँसो नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गर्न समय दिइएको थियो। आज नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत गर्ने र सम्बोधमाथि छलफल हुने कार्यसूचीसमेत छ।

आजदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे छलफलमा विपक्षी दल नेकपा एमाले कडाइका साथ प्रस्तुत हुने भएको छ। शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका थिए।

शनिवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आजदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिएका थिए।

‘एमालेको भूमिका अलि लुलोलुलो भयो। नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्’, उनले भनेका थिए, ‘त्यसैले हाम्रो प्रस्तुति संसदमा कडा हुनुपर्दछ। संसदमा जति समय पाउनुहुन्छ। आफ्ना कुरा कडाइका साथ राख्नुहोला।’

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसदबाट पारित गर्न नदिनेसमेत बताएका थिए। ‘नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना रहेको छैन। यो  नीति वार्षिक कार्ययोजनामात्र हो’, उनले भनेका थिए, ‘यसले देशको मार्गदर्शन गर्दैन। यो स्वीकार र समर्थन योग्य छैन। विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन।’

प्रतिक्रिया