काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार मनाङले १० खेलाडीमा समेटिएको एपीएफ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा मनाङले बराबरी खेल्नु परेको हो ।
खेलको १३ औं मिनेटमा कोफी कुडोले पेनाल्टीबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
एपीएफका विश्वास सुन्दासले पेनाल्टी क्षेत्र भित्र सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
यस्तै विश्वास रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
तर खेलको २० औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ ।
एपीएफले २० खेलमा २३ अंक जोडेको छ ।
प्रतिक्रिया