Pura Samachar

राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

प्रकाशित: May 22, 2023
पूरा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

काठमाडौं– मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुँदैछ। आफूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिट आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी परेको छ। श्रेष्ठको मुद्दा ११ नम्बरमा पेसी रहेका छ।

यसअघि जेठ ५ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी रहेको थियो। उक्त दिन हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको थियो। पार्टीको उक्त निर्णयलाई चुनौती दिँदै श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ।

दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै  वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई हटाउने निर्णय र नयाँ सिफारिस भएका सांसदलाई कुनै पनि काम नगर्न भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया