
काठमाडौं। टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीको जघन्य अपराध माफी पत्र राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।
कैलालीको टीकापुरमा २०७२ भदौमा ७ गते थारुहट आन्दोलनकारीको आक्रमणमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटना दोषी ठहर भइ जन्मकैदको सजाय भाेगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसमा आममाफी दिलाउने तयारी गरेको छ । सरकारको तयारी अनुसार चौधरीले बाँकी सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा निवेदन पठाएका हुन् ।
चौधरीले आममाफीको लागि पठाएको पत्रको फाइल गृह मन्त्रालयमा फिर्ता गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार चौधरीको आममाफी सम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।
टीकापुर घटनाका दोषी चौधरी २०७४ साल फागुन १५ गतेदेखि काठमाडाैंकाे डिल्लीबजारस्थित सदरखोरमा छन् । चौधरीलाई जिल्ला अदालत कैलाली, उच्च अदालत र सर्वोच्च अदालतले जन्मकैद सजाय तोकेको छ । अदालतले तोकेको सजाय अनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया