
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले जित निकालेको छ ।
च्यासलमा मंगलबार भएको खेलमा खुमलटारले एपीएफ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । स्टेफेन बिनोङले एक गोल थपे ।
एपीएफका सनिश श्रेष्ठले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफका सनिशले गोल गरेपनि खुमलटार ३-१ ले विजयी भयो ।
खुमलटारको यो आठौं जित हो ।
जितसँगै खुमलटारले २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।
एपीएफ २५ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा अहमत हिजाजीले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै आर्मीले २५ खेलमा ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया