
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।
पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।
नेपालका अन्जन विष्टले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।
नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३-१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।
यससँगै साविक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।
यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।
अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।
अर्कोतर्फ साविक विजेता तथा आयोजक भारतले साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार पाकिस्तानलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गोल गरे । यस्तै उदान्त सिंहले एक गोल थपे ।
खेलको दशौँ मिनेटमा सुनिलले पाकिस्तानी गोलकिपरको गल्तीमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको १६ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २-० ले अघि रह्यो ।
खेलको ७४ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारतले ३-० को अग्रता बनायो ।
ह्याट्रिकसँगै सुनिलले आफ्नो ९० औं अन्तराष्ट्रिय गोल समेत पूरा गरे ।
त्यसपछि खेलको ८१ औं मिनेटमा उदान्तले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।
जितसँगै समूह ‘ए’ मा रहेको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ ।
पाकिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ ।
प्रतिक्रिया