Pura Samachar

सेयर बजार ११.६९ अंकको वृद्धिसहित २१२९.४२ बिन्दुमा

प्रकाशित: June 26, 2023
पूरा समाचार

सेयर बजार ११.६९ अंकको वृद्धिसहित २१२९.४२ बिन्दुमा

काठमाडौं- गएको साता स्थिर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै ठूलो वृद्धिपछि दोस्रो कारोबारमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ। गएको साता उतारचढावमा रहेको बजारमा यो साता पनि पहिलो कारोबार नै उत्साहजनक देखिएको थियो। तर बजारले दोस्रो कारोबारमा पुन: उतारचढावमा रहँदै वृद्धि समात्यो।

सोमबारको कारोबारमा एकघण्टासम्म बजार उचालिएको थियो। त्यसपछि उतारचढावमा रहँदै बजार बन्द हुने समय ११.६९ अंकको वृद्धिसहित २१२९.४२ बिन्दुमा पुगेको छ। १२३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।

यो साता आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुगेको थियो। जहाँ १८९ कम्पनीको सेयर मूल्य बढ्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया