
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप क्रिकेट २०२३ को खेल तालिका प्रकाशित गरेको छ । विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म आयोजना हुनेछ ।
आईसीसीले आज (मंगलबार) तालिका प्रकाशित गरेको हो । प्रतियोगिताका ४८ खेल भारतका विभिन्न १० स्थानमा खेलाइनेछ । तालिकाअनुसार उद्घाटन खेलमा साबिक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्ड खेल्नेछन् । यो खेल अक्टोबर ५ मा नरेन्द्र मोदी रंगशाला अहमदाबादमा हुनेछ ।
विश्व क्रिकेटको बहुप्रतीक्षित भिडन्त अर्थात् भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा हुनेछ । यो खेल पनि नरेन्द्र मोदी रंगशाला अहमदाबादमा खेलाइनेछ । अघिल्लो विश्वकपमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको थियो । विश्वकपअघि यी दुई देश एसिया कपमा समेत खेल्दै छन् । विश्वकप ४६ दिनसम्म हुनेछ । १० टिमबाट शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
पहिलो स्थानको टिमले चौथो स्थानमा रहने टिमसँग पहिलो सेमिफाइनल खेल्दा दोस्रो र तेस्रो स्थानमा रहने टिमबीच दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनल १५ र १६ नोभेम्बरमा हुनेछन् । फाइनल खेल १९ नोभेम्बरमा अहदाबादमै खेलाइनेछ । जिम्बाब्वेमा जारी ग्लोबल क्वालिफायर्सबाट छनोट हुने दुई टिम, आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, बंगलादेश, अफागनस्तिान र दक्षिण अफ्रिकाले विश्वकप खेल्नेछन् ।
प्रतिक्रिया