Pura Samachar

सेयर बजार पुन: ठूलो गिरावट५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा

प्रकाशित: July 2, 2023
पूरा समाचार

सेयर बजार पुन:   ठूलो गिरावट५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा

काठमाडौं- उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्।

यो साता पहिलो कारोबारमा आइतबार बजारमा ठूलो गिरावट देखियो। ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको छ। आइतबार २ सय ७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

images

गएको साता आइतबार ६२.२१ अंकको वृद्धि आएको बजारमा सोमबार पनि ११.६९ अंकको वृद्धि देखिएको थियो। मंगलबार ५६.९४ अंकले बढेको बजार गएको साताको अन्तिम कारोबारमा बुधबार भने ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ।

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया