
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक साउन २ गतेका लागि बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीका अनुसार साउन २ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि बुधबार दिउँसो १ बजे बोलाइएको कार्यसमिति बैठक प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै स्थगित गरिएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिएकी थिइन् ।
पार्टी नेताहरूकै चर्को दबाबपछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बुधबारका लागि डाकिएको थियो । यसबीच भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा केन्द्रीय कार्यसमिति छल्दै विधिविधानबमोजिम पार्टी नचलाएको, संगठन शिथिल पारेको र पार्टीलाई सत्ता राजनीतिमा मात्रै प्रयोग गरेर वैचारिक धार कमजोर बनाएको लगायत आरोप सभापति शेरबहादुर देउवालाई लाग्दै आएको छ ।
प्रतिक्रिया