
काठमाडौं– दुई दिनअघि असार २५ गते मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम बनाएको छ ।
प्राधिकरणका अनुसार अब हेलिकप्टरले मनसुन अवधिभर हिमालमा उडान गर्ने अनुमति पाउने छैनन् । योसंगै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान तथा पुष्पवृष्टि गर्न रोक लगाएको छ ।
प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु अथवा अवतरण विन्दुमध्ये कम्तिमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ ।
हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन अवधी भर (सेप्टेम्बर २०२३ सम्म) साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ ।
प्राधिकरणले अब हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल तथा पहाडका विमानस्थल) मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत गर्नेछ ।
यसका साथै प्राधिकरणले सेयर सदस्य ९लगानीकर्ता०का रुपमा हेलिकप्टर कम्पनीमा आवद्ध भएर पाइलटको कामसमेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । माउन्टेन फ्लाइटका लागि उक्त हेलिकप्टर सोलु क्षेत्रमा पुगेको थियो ।
प्रतिक्रिया