
एजेन्सी – कप्तान रोहित शर्मा, प्रमुख ब्याटर विराट कोहली र युवा ब्याटर यशस्वी जैसवालको अर्धशतकमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध मजबुत ब्याटिङ प्रदर्शन गरेको छ । पहिलो दिनको खेल सकिँदा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको छ ।
भारतका विराट कोहली १ सय ६१ बलमा ८ चौकासहित ८७ रनमा अविजित छन् । उनलाई रविन्द्र जडेजाले ८४ बलमा ४ चौकासहित ३६ रनमा साथ दिएका छन् ।
ओपनर यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए । जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट भए ।
रोहित शर्मा १ सय ४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा बोल्ड आउट भए । शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट भए ।
वेस्टइन्डिजका केमार रोच, शेनोन गेब्रिएल, जोमेल वारिकन र जेसन होल्डरले समान एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ ।
प्रतिक्रिया