Pura Samachar

अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने:उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ

प्रकाशित: July 21, 2023
पूरा समाचार

अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने:उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।

शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनले सो चेतावनी दिएका हुन्।

त्यस अवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि? भन्ने प्रश्न गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए।

उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत नहुने गरी नयाँ योजना ल्याउने घोषणासमेत गरे।

उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गरे।

उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्नेसमेत दोहोर्‍याए। उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिरसमेत गरे।

आफूलाई भ्रष्टाचारविरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको जिकिर थियो। उपप्रधानमन्त्री श्रेष्ठले भने,  ‘अहिले जो सुकै भए पनि अव अन्तराष्ट्रिय विमानस्थल त्यसमा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो। यसले ५-६ वटा कुरामा हामीलाई असर पार्छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पुर्‍याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए।

उनले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘केही दिनअघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरु पार गरेर अवैधानिक रुपमा रुपमा करिब एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको विषयमा राजस्व अनुसन्धान अन्तरगत एक छानविन समिति पनि बनाइएको छ। यो छानविन र अनुसन्धानको प्रक्रियालाई त्यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ। र, जस्तोसुकै र जोसुकै भए पनि त्यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो जोड रहेको छ।’

उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए।

प्रतिक्रिया