Pura Samachar

सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी नहुने:वामदेव गौतम

प्रकाशित: July 22, 2023
पूरा समाचार

सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी नहुने:वामदेव गौतम

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी नहुने बताएका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै संयोजक गौतमले भन्सारमा कर्मचारीहरू खटिने भएकाले प्रधानमन्त्री र मन्त्रीहरूको नाम नजोडिने बताए।

‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने हाम्रा उखानहरू छन्। त्यस्तो भयो भने मात्र प्रधानमन्त्री मन्त्रीहरू तानिनसक्छन्। नत्र त्यहाँ खटिएका कर्मचारीहरू नै मुख्य रूपमा दोषी हुन्छन्। सुन आवोस् कि अरू आवोस् त्यहाँ प्रधानमन्त्री, राष्ट्रपति मन्त्रीहरू जोडिने हुँदैन,’ उनले भने।

नेता गौतमले  तस्करीबाट ल्याएको सुन नेपालमा खपत नहुने बताए। यस्तै, उनले सुनकाण्डमा राजनीतिक संलग्नता नहुनेसमेत दाबी गरे। सुनकाण्डमा राजनीतिक संलग्नता छ भनिन्छ नि! भन्ने सञ्चारकर्मीरूको प्रश्नमा उनले भने, ‘सुनकाण्डमा राजनीतिक संलग्नता हुँदैन। छैन।’

गठबन्धनको संरक्षण गर्दै हुनुहुन्छ? भन्ने प्रतिप्रश्नमा उनले भने, ‘होइन, बलात्कार, चोरी, हत्या हिंसा, सडक दुर्घटनामा राजनीतिक संलग्नता हुन्छ? यस्तो पनि भन्ने हो र! तथ्यले हरेक ठाउँमा राजनीतिक दलका नेता उपस्थित छैनन्। कर्मचारीभित्र खोज्ने त्यसपछि को संलग्न छ अनि थाहा हुन्छ।’

सुनकाण्डमा वामदेव गौतमको पनि संलग्नता छ भनिन्छ नि? भन्ने प्रश्नमा नेता गौतमले भने, ‘त्यसो भए प्रमाण दिनपर्यो। म त्यसको सामना गर्न तयार छु। मुखमा स्वाद र मनोरञ्जन हुन्छ भने  त्यो भन्ने छुट सबैलाई हुन्छ। तर, प्रमाणबिना आरोप लगाए ठूलो अपराध हुन्छ। र धर्मअनुसार भन्ने हो भने तपाईंहरू पनि महापापमा पर्नुहुन्छ। राजनीतिक वृत्तमा वामदेवको नाम आउँदैन।अराजनीतक क्षेत्रमा कतिपय भँडुवा व्यक्तिहरूले वामदेवको कुरा ल्याउँछन्। ०७२ सालको असोजमा गृहमन्त्री छोडेको हुँ। त्योभन्दा अगाडि दुईपटक गृहमन्त्री भएको छु। म गृहमन्त्री भएको बेला शान्ति सुरक्षाको ग्यारेण्टी भएको छ।’

उनले आफू ०५४ सालमा गृहमन्त्री हुँदा सुनकाण्ड नभएको बताउँदै बरु आफू सरकारमा छँदा हटाउन पार्टीभित्र र बाहिरबाट प्रयास भएको बताए। नेता गौतमले आफूमाथि लगाइएको आरोपको प्रमाणसहित पेस गरेर जेल जान तयार रहेको बताए।

उनले भने, ‘ममाथि लगाइएका आरोपहरू अदालतमा पेश गरियोस्। प्रमाणरू दिइयोस्। म त्यसको सामना गर्न पनि तयार छु। जेल जान पनि तयार छु। खुसी भएर जेल जीवन बिताउँछु।’

प्रतिक्रिया