Pura Samachar

देशभर सामान्य बदली रहने

प्रकाशित: July 23, 2023
पूरा समाचार

देशभर सामान्य बदली रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

अहिले काठमाडाैं उपत्यकासहित देशका अधिकांश भागमा मध्यम वर्षा भइरहेकाे छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिकदेखि सामान्य वर्षा हुनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मुसलधारे वर्षाको समेत सम्भावना छ।

हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया