Pura Samachar

पपुवा न्युगिनी (पिएनजी) आइसिसी ट्वान्टी-२०विश्वकपका लागि छनोट

प्रकाशित: July 28, 2023
पूरा समाचार

पपुवा न्युगिनी (पिएनजी) आइसिसी ट्वान्टी-२०विश्वकपका लागि छनोट

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) आइसिसी ट्वान्टी-२०विश्वकपका लागि छनोट भएको छ ।

घरेलु टोली पिएनजीले एक खेल अगावै ट्वान्टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

पपुवा न्युगिनी पाँच खेलमा खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । अन्तिम खेल पपुवा न्युगिनीले शनिबार जापानसँग खेल्नेछ । जापान ५ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।

पपुवा न्युगिनीले शुक्रबार फिलिपिन्समाथि १ सय रनको फराकिलो जित निकाल्यो ।

अमिनी पार्कमा पिएनजीले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २९ रन मात्र बनाउन सक्यो।

फिलिपिन्सका कप्तान ड्यानियल स्मिथले सर्वाधिक ३४ रन बनाए । यसैगरी हुजैफा मोहम्मदले २३ अर्शदीपसिंह शर्माले २२ र जोसेफ डक्टराले १५ रन जोडे ।

पिएनजीका लागि  काबुआ मोरेयाले दुई तथा हिरी हिरी र जोन क्रिकोले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको पिएनजीले  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २९ रनको योगफल तयार पारेको थियो ।

पिएनजीका लागि टोनी उराले ३१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६१ रनको बनाए । यसैगरीअसाद भालाले  ३९ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ५९, चार्ल्स अमिनीले २७ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५६, लेगा सियाका २६ र हिरी हिरी अविजित२० रन जोडे ।

फिलिपिन्सका लागि फ्रान्सिस नोर्मन वाल्स र लियम मेओटले समान दुई तथा किप्लर लुकिस र सुरिन्दर सिंहले समान एक विकेट लिए ।

पिएनजी दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा पुगेको हो । यसअघि पिएनजीले सन् २०२१ मा पनि ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

प्रतियोगितामा पिएनजी, जापान, भानुआतु र फिलिफिन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

युरोप क्षेत्र छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाइसकेका छन् । नेपालले पनि आगमी नोभेम्बरमा विश्वकप एसिया छनोट आयोजना गर्नेछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्र छनोट ‘ए’ र बी’ बाट आउने दुई टोली हुनेछन् । एसिया विश्वकप छनोटबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया