काठमाडौं- देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीनजनाको करेन्ट लागेर ज्यान गएको छ।
प्रहरीका अनुसार बाँके, राप्तिसोनारी गाउँपालिका-४ लठ्ठापुर चोकमा बा.५५ प ५०३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बनघुस्री बस्ने ३० वर्षीय राम थारुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दाङ, दंगीशरण गाउँपालिका-५ संघारी चोकमा रगैचादेखि तुलसीपुरतर्फ जाँदै गरेको रा.६ प ७९५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपलिका-८ नयाँ बस्ती बस्ने १८ वर्षीय गगन घर्तीमगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, बेलबारी नगरपालिका-३ स्थित सडकमा को.१ ख ६७१० नम्बरको ट्रक र ११ सु.ह.११४३ नम्बरको सिटी सफारी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सिटी सफारी चालक सुन्दरहरैचा नगरपालिका-११ गोबिन्दपुर बस्ने ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सिटी सफारीमा सवार १ जनाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका-५ फिर्केपुलस्थित सडकमा ग.१८ प ९७७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया संगिता क्षेत्रीको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा, मेचीनगर नगरपालिका-१३ कालि झोडास्थित सडकमा मे.५ प २१८० नम्बरको स्कुटरलाई प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअप गाडीले शनिबार बिहान ठक्कर दिँदा स्कुटर चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
पर्सा, वीरगंज महानगरपालिका-२२ जगन्नाथुर बस्ने २२ वर्षीय जनक माझीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। आफ्नै मोटरसाइकल ग्यारेजमा मोटरसाइकल वास गर्ने मेसिन जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी पर्सा, बिन्दबासिनि गाउँपालिका-५ भेलाहा बस्ने ४८ वर्षीय राजेश ठाकुरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित रामजानकी मठको धारामा मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बर्दिया, बारबर्दिया नगरपालिका-४ घोरपिट्टा बस्ने ३० वर्षीया राम कुमारी थारूको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ। आफ्नो घरको आँगनमारहेको कपडा सुकाउन टाँगिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया