Pura Samachar

आज सत्ता गठबन्धनका नेताको बैठक काठमाडौंमा बस्दै

प्रकाशित: July 30, 2023
पूरा समाचार

आज सत्ता गठबन्धनका नेताको बैठक काठमाडौंमा बस्दै

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार बनाउने तयारी स्वरुप आज सत्ता गठबन्धनका नेताको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा गठबन्धनका कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ ।

आज बिहान नौ बजे कोशी प्रदेशका नेताहरुसँग छलफल हुनेछ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरुले काठमाडौंमा बोलाएकाले आएको बताएका छन् । शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत पुगेको छैन । सरकार बनाउन ४७ सांसद चाहिन्छ  । राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्ता गठबन्धनको तयारी छ ।

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

सर्वोच्चले संविधानको धारा १६८(२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

प्रतिक्रिया