Pura Samachar

जर्मनीलाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल प्रवेश

प्रकाशित: July 31, 2023
पूरा समाचार

जर्मनीलाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल प्रवेश

काठमाडौं : म्यानुएला भेनेगसले इन्जुरी समयमा गरेको निर्णायक गोलले जर्मनीलाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल प्रवेश गरेको छ।

आइतबार अस्ट्रेलियाको एलिएन्ज रंगशालामा सम्पन्न खेलमा जर्मनीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै कोलम्बिया समूह ‘एच’को अन्तिम खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो ।​

जर्मनीविरुद्ध जित दिलाउन कोलम्बियाका लिन्डा काइसेडो र भेनेगसले गोल गरे। जर्मनीकी एलेक्सान्ड्रा पोपले गोल गरे पनि हार टार्न भने सकिनन्।​ एलिएन्ज रंगशालामा काइसेडोले ५२औँ मिनेटमा गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको थियो।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पोपले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई खेलमा फर्काएकी थिइन्। कोलम्बियाकी गोलकिपर क्याटालिना पेरेजले लेना अबेरडोर्फमाथि पेनाल्टी बक्सभित्र फाउल गरेपछि जर्मनीले पेनाल्टीको अवसर पाएको थियो। त्यसमा पोपले कुनै गल्ती नगरी बललाई जाली चुमाइन्।

तर, इन्जुरी समयको अन्तिम मिनेटमा भेनेगसले हेडर गोल गरेपछि कोलम्बियाले जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निश्चित गर्‍यो। फिफा विश्वकपमा कोलम्बियाको यो समग्रमा तेस्रो जित हो। कोलम्बियाले सन् २०११ को संस्करणबाट विश्वकपमा ‘डेब्यू’ गरेको थियो।

जर्मनीको भने यो सन् १९९५ पछि समूह चरणमा बेहोरेको पहिलो हार हो। जितसँगै दुई खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह चरणको अन्तिम खेलअगावै अन्तिम–१६ मा प्रवेश गरेको छ।

यता, कोलम्बियासँगको हारले जर्मनीलाई भने नकआउट चरणमा प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ। दुई खेलबाट तीन अंक जोडेको जर्मनी तालिकाको दोस्रो स्थानमा छ। यस समूहको तेस्रो स्थानमा तीन अंक जोडेको मोरोक्को र पुछारमा अंकविहीन दक्षिण कोरिया छन्।

 

प्रतिक्रिया