Pura Samachar

एसेज सिरिज २-२ को बराबरीमा सकियाे,एसेज ट्रफी अष्ट्रेलियासँग रहने

प्रकाशित: August 1, 2023
पूरा समाचार

एसेज सिरिज २-२ को बराबरीमा सकियाे,एसेज ट्रफी अष्ट्रेलियासँग रहने

इंग्ल्याण्ड र अस्ट्रेलियाबीच लण्डनको ओभल मैदानमा एसेज सिरिजको पाँचौं र अन्तिम टेस्टमा नाटकीय रुपमा इंग्ल्याण्ड ४९ रनले विजयी भएको छ । यो जितसँगै घरेलु टोली इंग्ल्यान्डले एसेज सिरिज २-२ को बराबरीमा टुंग्याएको छ । चौथो टेस्ट वर्षाका कारण ड्र भएको थियो ।

तर यो सिरिज अस्ट्रेलियाले कब्जा गरेको थियो । अस्ट्रेलियाले अघिल्लो एशेज शृंखला जितेकोले एसेज ट्रफी अष्ट्रेलियासँग रहनेछ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डले ३९५ रन बनाएर अस्ट्रेलियालाई ३८४ रनको लक्ष्य दिएको थियो । पाँचौं दिनमा अस्ट्रेलियाले राम्रो सुरुवात गरे पनि अन्तिममा ३ सय ३४ रन बनाएर अलआउट भयो ।

इंग्ल्याण्डका तिब्र गतिका बलर क्रिस वोक्स र स्पिनर मोइन अलीले एकसाथ ७ विकेट लिएर पुरै खेल उल्टाइदिए ।

अस्ट्रेलियाले सन् २०१५ यता एशेज सिरिज हारेको छैन । अष्ट्रेलियाले आफ्नो २०१७/१८ एसेज जित पछि दबदबा बनाएको छ र २०१९ मा इंग्ल्याण्डमा मात्र एक शृंखला बराबरी गरेको छ। सन् २०२१ मा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई घरमै ४–० ले हराएको थियो ।

अष्ट्रेलियाका ओपनरहरुले पाँचौं दिनको खेललाई अगाडि बढाए । डेभिड वार्नर र उस्मान ख्वाजाबीच १४० रनको साझेदारी थियो । वार्नर ६० रन बनाएर पभेलियन फर्किए । वार्नरको विकेटको दुई ओभरपछि उस्मान ख्वाजाले पनि ७२ रन बनाएर क्रिस वोक्सको बलमा एलबीडब्ल्यू आउट भए । त्यसपछि स्टिभ स्मिथ र ट्राभिस हेडबीच ९५ रनको बलियो साझेदारी भयो ।

ट्राभिस हेड ४३ रन बनाएर आउट भए । उनी आउट हुनेबित्तिकै टोलीको विकेट झर्दै गयो । हेडको विकेटपछि स्मिथ पनि अर्को ओभरमा ५४ रन बनाएर पभेलियन फर्किएका थिए । मिचेल मार्स ६ रन र मिचेल स्टार्सले शून्य रन बनाएर आउट भए । कप्तान प्याट कमिन्सले पनि ९ रन मात्र बनाउन सके । एक छेउमा विकेट खस्न थाल्यो भने अर्को छेउमा विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले टिकेका थिए । टोड मर्फी र एलेक्स क्यारीबीच ३५ रनको साझेदारी थियो। तर, स्टुअर्ट ब्रोडले पहिले टोड मर्फीलाई आउट गरे र त्यसपछि एलेक्स क्यारीको रूपमा अन्तिम विकेट लिएर इंग्ल्याण्डलाई जित दिलाएका हुन्।

प्रतिक्रिया