एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतमाथि चार रनको नाटकीय जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाउन सक्यो । भारतका लागि डेब्यू खेल खेलेका बायाँ हाते ब्याटर तिलक बर्माले २२ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रन बनाए । भारतलाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिँएको थियो । त्यसअघि १२ बलमा २१ रन चाहिँदा ओबेद म्याकोयले दुई चौकासहित कुल ११ रन खर्चिएका थिए । अर्शदीप सिंहले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै भारतलाई जितको सम्भावना देखाएका थिए । रोमारियोले अन्तिम ओभरको पहिलो बलमै कुलदीप यादवलाई योर्कर बलमा ३ रनमा बोल्ड आउट गरे । युजभेन्द्र चहलले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा अर्शदीपले दुई रन बटुले । अन्तिम तीन बलमा जितको लागि ७ र सुपर ओभरमा लैजान ६ रन चाहिँएको थियो । चौथो बलमा अफ साइडको बलमा डट राखे । पाँचौं बलमा दुई रन लिनेक्रममा अर्शदीप रन आउट भएपछि जितको सम्भावना लगभग सकिएको थियो । अन्तिम बल योर्करका साथ जित पक्का गराए । वेस्टइन्डिजको लागि १६ औं ओभर जितको टर्निङ प्वाइन्टको आधार बनेको थियो । भारतलाई जितको लागि अन्तिम ३० बलमा मात्रै ३७ रन चाहिँएको थियो । भारतको हातमा ६ विकेट थियो । जेसन होल्डरले १६ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्यालाई १९ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा ३ चौका प्रहार गरे । एक बल पछि कायल मेयर्सले डाइरेक्ट हिटमा सन्जु स्यामसनलाई १२ रनमा रन आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो । ओपनर शुभमन गिललाई तेस्रो ओभरको दोस्रो बलमै स्पिनर अकिल हुसैनले ३ रनमा स्टम्पिङ आउट गराएका थिए । ओबेद म्याककोयले ईशान किशनलाई ६ रनमा क्याच आउट गराए । जेसन होल्डरको बलमा शिम्रन हेटमायरले एक उत्कृष्ट क्याच लिएपछि सूर्यकुमार यादव २१ बलमा २ चौका र १ छक्कासहित २१ रनमा पेभेलिएन फर्केका थिए । वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोयले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अकिल हुसैनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । अन्तिम तीन ओभरमा मात्रै २१ रन मात्रै बनाएपछि विशाल योगफल बनाउन चुकेको थियो । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । ओपनर कायल मेयर्सलाई स्पिनर युजभेन्द्र चहलले १ रनमा एलबीडब्लू आउट गरे । उनले ७ बल खेलेका थिए । पहिलो विकेटका लागि मेयर्स र ब्रेन्डन किंगले ४.१ ओभरमा २९ रनको साझेदारी गरेका थिए । चहलले पाँचौं ओभरमा दुबै ओपनरलाई एलबीडब्लू आउट गरेका थिए । मेयर्स आउट भएको एक बलपछि किंग २८ रनमा आउट भए । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । स्पिनर कुलदीप यादवको बलमा जोनसन चाल्र्स ३ रनमा तिलक बर्माबाट क्याच आउट भए । वेस्टइन्डिजका ब्याटरको लागि स्पिनर पुन घातक बनेका थिए । स्पिन सामु राम्रो खेल्न नसक्नु वेस्टइन्डिजको ठूलो कमजोरीको रुपमा रहेको छ । निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा क्याच आउट भए । पुरन कप्तान हार्दिक पान्ड्याको बलमा बर्माबाट क्याच आउट भएका थिए । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रनमा आउट भए । एक वर्षपछि टोलीमा फर्किएका हेटमायरले तीन ओडिआई खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । भारतका युजभेन्द्र चहलले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हार्दिक र कुलदीप यादवले समान एक एक विकेट लिए । पाँच टि२० आई खेलको सिरिजमा दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, शनिबार र आइतबार हुनेछ । तीन ओडिआई खेलको सिरिज भारतले २(१ ले जितेको थियो । दुई टेस्ट खेलको सिरिज १-० ले जितेको थियो ।
प्रतिक्रिया