काठमाडौं । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो।
यस विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका थिए ।
यस प्रकरणमा हाल राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको छ । सुन तस्करीको अनुसन्धान प्रहरीलाई नदिइएको भन्दै सरकारको आलोचना भएको थियो । बिहीवार मात्र कांग्रेस नेता शेखर कोइरालाले सुन तस्करी सम्बन्धमा प्रहरीलाई अनुसन्धानको जिमा नदिइनु गम्भीर भएको टिप्पणी गरेका थिए ।
थप अनुसन्धानका लागि विभागले सिआईबीलाई लेखेर पठाउने तयारी गरेकाे एक अधिकारीले बताए ।
प्रतिक्रिया