
काठमाडौं । सरकारले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीलाई खोजी गर्न आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि आग्रह गर्नुभएको हो ।
गौरीकुण्ड पहिरोमा १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार पहिरोमा बेपत्ता मध्ये अधिकांश नेपाली परेका छन् । मुख्यमन्त्री धामीले पहिरोमा बेपत्ताहरुलाई खोज्न शनिबार बिहानैबाट सुरक्षाकर्मी तथा अन्य निकाय खटाइएको परराष्ट्रमन्त्री साउदलाई जानकारी गराउनु भएको उहाँको सचिवालयले जनाएको छ ।
वर्षातले विभिन्न ठाउँमा पहिरो गएपछि अहिले गौरीकुण्ड आवत जावत रोकिएको छ । तर बेपत्ताहरुको खोजीका लागि भने स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको मुख्यमन्त्री धामीले बताएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया