
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंका तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिँदैछ । महासंघ बुधबार अन्नपूर्ण पोष्ट दैनिक, कारोबार दैनिक र राजधानी दैनिकको कार्यालयमा भर्ना दिन लागेको हो ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहालीको माग गर्दै बुधबार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म एक् साथ धर्ना दिन लागिएको महासंघले जनाएको छ ।
निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले गत बिहीबार तीन वटै सञ्चार गृहमा पत्र पठाएको थियो ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्युज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रहबमोजिम श्रम समस्या समाधान नगरेकाले पाँच दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने महासंघले जानकारी गराइएको थियो ।
पाँच दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन नगरेकाले धर्ना दिन लागिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।
दाहालका अनुसार, माग पुरा नभए महासंघको नेतृत्वकै अगुवाईमा हुने पहिलो चरणको आन्दोलन सम्पन्न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका सञ्चालकको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पिडीत सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफलमा रहेको छ ।
प्रतिक्रिया