
काठमाडौं : पाकिस्तानले अफगाानिस्तानविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिनस्विप गरेको छ।
आइतबार राति भएको खेलमा अफगाानिस्तानलाई ५९ रनले पराजित गर्दै पाकिस्तानले सिरिज ३–० ले क्लिन स्विप गरेको हो।
जितसहित पाकिस्तान आईसीसी एक दिवसीय वरीयतामा अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो। पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिए। कप्तान बाबर अजामले ६० रन बनाए।
तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए। मोहम्मद नवाजले ३० रन बनाउँदा ओपनर फखार जमान २७ रनमा आउट भए । अघा सलमान ३८ रनमा अविजित रहे।
अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजल–हक फारुकीले १–१ विकेट लिए।
जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८ दशमलव ४ ओभरमा २ सय ९ रनमा अलआउट भयो। अफगानिस्तानका लागि मुजिब उर रहमानले ६४ रन बनाए। रियाज हसनले ३४ रन बनाउँदा साहिदुल्लाह कमलले ३७ रनको योगदान दिए।
९७ रनमा ७ विकेट गुमाएको अफगानिस्तानका लागि आठौं विकेटका लागिकमल र मुजिबले ६१ रनको साझेदारी गरे।
पाकिस्तानका शादब खानले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान २–२ विकेट हात पारे।
यस अघि पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो।
प्रतिक्रिया