काठमाडौं । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन् । प्रहरीले कैलाली, बर्दिया, झापा, मोरङ र मकवानपुरका छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेकाे हाे ।
कैलालीकाे गोदावारी गाउँपालिका-१ बनखेत बस्ने ३५ वर्षीय रमेश बहादुर तिरूवालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापाकाे मेचीनगर नगरपालिका-१० टिमाई पुल नजिक गोरु हटियाबाट अवैध लागूऔषध गाँजा २ किलो, तराजु १ थान, ढक ५ थान र सानो प्लाष्टिकको जिपर ब्याग २ सय थानसहित सोही ठाउँ बस्ने ३८ वर्षीय नवि मिया चुरौटेसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले चुरौटेको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दियाकाे बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० स्थित आर्जु होटेल एण्ड सेकुवा कर्नरबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय तक्सन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-६ खयरघारीबाट अवैध लागूऔषध गाँजा २ किलो र नगद ५९ हजार रूपैयाँसहित सोही गाउँपालिका-६ नयाँबस्ती बस्ने २९ वर्षीय सन्तलाल लामालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना.३२ प २९५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका-३ दमारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित सोही गाउँपालिका-९ ज्यामिरे बस्ने ३८ वर्षीय टेक बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया