Pura Samachar

कांग्रेस पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

प्रकाशित: September 6, 2023
पूरा समाचार

कांग्रेस पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौं- सत्तारुढ कांग्रेसले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ। यादवमाथि खुकुरी प्रहारको घटनामा संलग्न अघिल्तिर र पछिल्तिर जोसुकै भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

आज रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो। घटनालगत्तै अस्पताल लगिएका यादवको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलबाट जारी विज्ञप्तिमा भनिएको छ।

यादवमाथि धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए। यादवमाथि खुकुरी हान्ने नुवाकोटाको विदुर नगरपालिका–७ का ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ। यद्यपि हालसम्म आक्रमणको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा पहिला यादवको भाषण सुनेका सापकोटाले उनलाई पछ्याउँदै गाडी चढ्नै लाग्दा खुकुरी हानेका थिए।  यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा बालाजुको पैंयुटार बस्दै आएको प्रहरीले बताएको छ। सापकोटा यादवको भाषण सुन्न रिपोर्टर्स क्लबमा राखिएका कुर्सीका अघिल्लो लहरमै बसेका थिए।

रिपोर्टर्स क्लबको कार्यक्रममा सह–महामन्त्री यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणबारे बोलेका थिए। सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका सह–महामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले रिसको झोकमा आक्रमण गरेको प्रारम्भिक बयान दिएको बताइएको छ। यादवको भाषण सुन्न भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट लगाएर रिपोर्टर्स क्लब पुगेका सापकोटाले झोलाबाट खुकुरी निकालेर आक्रमण गरेका थिए।

सह–महामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले एमसीसी खारेज गर, हिन्दु राष्ट्र कायम गर, राजसंस्था जिन्दावादजस्ता नारा लगाउनुका साथै नेताहरुलाई गाली गरेका थिए।

प्रतिक्रिया