Pura Samachar

आईफोन ‘स्लो’ बनेको मुद्दा सुल्झाउन ११ करोड डलर तिर्न एप्पल सहमत

प्रकाशित: November 20, 2020

आईफोन ‘स्लो’ बनेको मुद्दा सुल्झाउन ११ करोड डलर तिर्न एप्पल सहमत

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफूमाथि लागेको पुराना आईफोन ‘स्लो’ गराएको आरोपसम्बन्धी मुद्दा सुल्झाउन ११ करोड ३० लाख डलर बुझाउने भएको छ । एप्पलले अमेरिकाका ३४ राज्य र सरकारसँग यो मुद्दा सुल्झाउने सम्झौता गरेको क्यालिफोर्नियाका महान्यायाधिवक्ता साभियर बेकेराले जानकारी दिए । आईफोनमाथि जानाजानरुपमा ब्याट्रिको आयु बढाउन पुराना आईफोन स्लो गरेको आरोप लागेको थियो । यद्यपि आईफोनले भने यसो सफ्टवेयर अपडेटका कारण पुराना आईफोन स्लो हुने गरेको दाबी गर्दै आएको थियो ।

एप्पलमाथि लगाइएको मुद्दा आईफोन ६ र ७ को विषयमा थियो । यी आईफोनहरु जति धेरै समय बित्यो त्यति स्लो हुँदै जाने समस्या देखिएको थियो । यस किसिमको समस्या ब्याट्रिले आईफोन सञ्चालनका लागि पर्याप्त भोल्टेज दिन नसकेको कारण हुने गरेको एप्पलमाथि दायर गरिएको उजुरीमा उल्लेख छ ।

यो समस्या समाधानका लागि एप्पलले सफ्टवेयर अपडेट गरेको थियो । तर, यसले आईफोनहरु झन् स्लो गराएको थियो । यसले एपहरु खुल्न लामो समय लाग्ने, स्क्रिनको ब्राइटनेस कम हुँदै जाने र स्पिकरको भोल्युम पनि कम हुँदै जाने समस्या देखिएको थियो ।

अहिले भएको सम्झौताअनुसार एप्पल आफ्ना ग्राहकहरुलाई कम्पनीले कसरी ब्याट्रिको समस्या समाधानको प्रयास गरिरहेको छ भनेर बुझ्न सजिलो र स्पष्ट हुने गरी जानकारीहरु राख्न सहमत भएको छ । बेकेराका अनुसार एप्पलले यसअघि नै निजीतर्फबाट उठाइएको मुद्दाका लागि ५० करोड डलर बुझाइसकेको छ ।

प्रतिक्रिया