
काठमाडौं । आयोजक भारतसँग १ सय रनको लज्जास्पद हारसँगै साविक विजेता इंग्ल्यान्ड विश्वकप २०२३ बाट बाहिरिने लगभग पक्का भएको छ । प्रतियोगिताबाट बाहिरिन इंग्ल्यान्डको औपचारिकता मात्रै बाँकी छ । ६ खेलमध्ये उसले पाँचमा हार बेहोरेको छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ । भारत अंक तालिकाको शीर्ष स्थानमा छ ।
जितको लागि २ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४।५ ओभरमा १ सय २९ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४६ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए । अरु कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ४.५ ओभरमा ३० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तर पछि भारतीय बलर हाबी भए ।
भारतका मोहम्मद शाममीले ७ ओभरमा २ मेडनसहित २२ रन खर्चेरर ४ विकेट लिए । जस्प्रित बुमराहले ६.५ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।। भारतका कप्तान रोहितले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।रोहितबाहेक सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रनको योगदान दिए ।एक समय ११.५ ओभरमा ४०–३ को अवस्थामा पुगेका भारतलाई चौथो विकेटका लागि रोहित र लोकेश राहुलले ९१ रनको साझेदारी गर्दै सम्हालेका थिए । रोहितले पछि सूर्यकुमार यादवसँग मिलेर थप साझेदारी गरे । तर उनी शतक बनाउनबाट चुके ।
इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।
प्रतिक्रिया