
सान्टियागो । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति रियलले एससी ब्रागाविरुद्ध ३–0 को जित दर्ता गर्दै लगातार २६ औं पटक नकआउट चरणको यात्रा तय गरेको हो।
रियलकै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेका थिए। खेलको २७ औं मिनेटमा नै डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि ५८ औं मिनेटमा भिनिसियसले गोल गरे। त्यसको तीन मिनेटभित्रै रोड्रिगोले रियलका लागि तेस्रो गोल गरेका थिए। यो जितसँगै रियल च्याम्पियन्स लिगमा घरेलु मैदानमा भएका पछिल्ला नौ खेलमा अपराजित छ।
गर्धनको चोटका कारण जुड बेलिङगम गएरातिको खेलमा बेञ्चमा थिए। रियलमा अनुबन्ध भएपछि उनी पहिलो पटक च्याम्पियन्स लिगको प्लेइङ ११ बाट बाहिर रहेका हुन्। चार खेलमा शतप्रतिशत जित दर्ता गरेको रियलले समूह सीमा १२ अंक बनाएको छ। समूह सी कै अर्को खेलमा नापोली युनियन बर्लिनसँग १–१ को बराबरीमा रोकिएको छ।
खेल अवधिभरी ७३ प्रतिशत समय बलमा नियन्त्रण बनाएर पहिलो हाफमै अग्रता लिए पनि उसले सो अग्रता जोगाउन भने सकेन । यससँगै नापोलीले चार खेलबाट सात अंक मात्र जोडेको छ। नापोली समूहको दोस्रो स्थानमा छ। ब्रागा तेस्रो र युनियन बर्लिन चौथो स्थानमा छ।
प्रतिक्रिया