
वीरगन्ज — सडन डेथमा आयोजक भेट्रान्स सिटी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् ।
कडा प्रतिस्पर्धाका बीच दुवै टिमले गोल गर्ने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् । पेनाल्टी सुट आउट पनि बराबरीमा टुंगीएको थियो । पेनाल्टीमा दुवैले ३/३ गोल गरेका थिए । त्यसपछि सडन डेथमा नेपाल पुलिस क्लबले १–२ ले भेट्रान्स सिटी क्लबलाई पराजित गरेको हो ।
सडन डेथमा नेपाल पुलिस क्लबका हेमन्त श्रेष्ठ र विवेक सन्तोषीले एक/एक गोल गरे । सिटी क्लबका मुसाले एक गोल गरे पनि राजन चौधरीले सडन डेथमा प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपरले छेकेका थिए । पुलिस क्लबका उज्वल राई, प्रताप गुरुङ, पृथ्वी चौधरीले पेनाल्टी सुट आउटमा गोल गरेका थिए भने सिटी क्लबका अबि लामा, सुजल डंगोल र राजु नगरकोटीले गोल गरेका थिए ।
नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरी म्यान अफ द म्याच घोषित भएका थिए । चौधरीलाई आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लबबीच बिहीबार दोस्रो सेमिफाइनल खेलिने छ । गत कात्तिक १८ देखि सुरु भएको प्रथम वीरगन्ज गोल्डकपको फाइनल खेल शनिबार खेलिने छ ।
प्रतिक्रिया