Pura Samachar

न्यूजिल्याण्डकाे विश्वकप २०२३ को सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का

प्रकाशित: November 10, 2023
पूरा समाचार

न्यूजिल्याण्डकाे विश्वकप २०२३ को सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का

बैङ्लुरु । न्यूजिल्याण्डले विश्वकप २०२३ को सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टोलीले बिहीबार आफ्नो अन्तिम लिग खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । यो जितसँगै न्युजिल्याण्डले लिगका सबै खेलपछि अंक तालिकामा १० अंक जोडेको छ ।  बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा किवी टोलीले २३.२ ओभरमा ५ विकेट गुमाएर १७२ रनको लक्ष्य पुरा गर्‍यो । ओपनर डेभन कोनवेले ४५ रन, रचिन रविन्द्रले ४२ र डेरिल मिचेलले ४३ रनको उत्कृष्ट पारी खेले ।

न्यूजिल्याण्डको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । यसपछि श्रीलंकाले ४६.४ ओभरमा कुल १७१ रन बनाएको थियो । श्रीलंकाका लागि कुसल परेराले सर्वाधिक रन बनाए । उनले २८ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै ५१ रन बनाए । उनले यो विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाए । परेराले २२ बलमा आफ्नो अर्धशतक पूरा गरे।

बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्तमा महिष टेकशानाले दिलशान मदुशंकासँग १० औं विकेटका लागि ४३ रनको साझेदारी गरे । किवीका ट्रेन्ट बोल्टले ३ विकेट लिए । लकी फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले २–२ विकेट लिए ।

रचिन  विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । रविन्द्रले विश्वकपको चालू सिजनमा ५ सय ६५ रन बनाएका छन् ।

उनले दक्षिण अफ्रिकाका क्विन्टन डी कक (५५० रन)लाई पछाडि छोडे। यति मात्र होइन, रविन्द्र डेब्यु विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले इंग्ल्यान्डका जोनी बेयरस्टो (५३२ रन) को कीर्तिमानलाई पछाडि छोडे। बेयरस्टोले २०१९ को डेब्यु विश्वकपमा रन बनाएका थिए ।

प्रतिक्रिया