Pura Samachar

भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा

प्रकाशित: November 16, 2023
पूरा समाचार

भारत  एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ ।  न्युजिल्यान्डलाई ७० रनले हराउँदै घरेलु टोली भारत जारी एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बुधबार वंखेडेमा भएको सेमिफाइनलमा भारतले ३ सय ९८ रनको लक्ष्य दिँदै जितको आधार बलियो बनाएको थियो । न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्र जोड्यो । न्युजिल्यान्डको पालीमा ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए । ४१ रनमा २ विकेट गुमाएको अवस्थामा मिचेल र विलियम्सनबीच तेस्रो विकेटका लागि एक सय ८१ रनको साझेदारी भएको थियो ।

३३ औँ ओभरको दोस्रो बलमा विलियम्सन तेस्रो विकेटका रुपमा मोहम्मद सामीको बलमा आउट भएपछि न्युजिल्यान्ड थप दबाबमा परेको थियो । त्यसपछि आएका विकेटकिपर टम लाथमले खाता खोल्न सकेनन् भने मार्क च्यापम्यानले २ रन मात्र जोड्न सके । फिलिप्स र मिचेलबीच पाचौँ विकेटका लागि ७५ रनको साझेदारी भएको थियो । भारतका मोहम्मद सामी एक्लैले ७ विकेट लिए । उनले न्युजिल्यान्डका शीर्ष ५ ब्याट्सम्यानलाई आउट गरेका थिए ।

त्यसअघि भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन जोडेको थियो । भारतका लागि विराट कोहली र श्रेयस अय्यरले सतकीय पाली खेलेका थिए । कोहलीले एक सय १७ र अय्यरले एक सय ५ रन बनाए । सुबमन गिल  ८० रनमा अविजित रहे ।

भारतले उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये एकसँग खेल्ने छ । भारतले अन्तिमपटक सन् २०११ मा एकदिवशीय विश्वकप जितेको थियो । भारतीय टोली तेस्रोपटक यो प्रतियोगिताको उपाधि जित्ने दाैडमा छ ।

प्रतिक्रिया