
एजेन्सी – ओपनर डेविड वार्नरको सानदार शतकमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलको पहिलो इनिङमा मजबुत ब्याटिङ प्रदर्शन गरेको छ ।
पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेट गुमाउँदै ३ सय ४६ रन बनाएको छ । ओपनर डेविड वार्नर २ सय ११ बलमा १६ चौका र ४ छक्कासहित १ सय ६४ रनको सानदार शतकीय इनिङ खेल्दै आउट भए ।
वार्नर आमेर जामलको बलमा इमाम उल हकबाट क्याच आउट भएका थिए । अर्का ओपनर उस्मान खवाजा ९८ बलमा ६ चौकासहित ४१ रनमा आउट भए ।
पहिलो विकेटका लागि वार्नर र खवाजाले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए । मार्नस लाबुसेन १६, स्टिभ स्मिथ ३१ र ट्रविस हेड ४० रनमा आउट भए ।
मिचेल मार्श १५ र एलेक्स केरी १४ रनमा क्रिजमा छन् । पाकिस्तानका लागि डेब्यू खेल खेलेका आमेर जामलले सर्वाधिक २ विकेट लिए । शाहिन शाह अफ्रिदी, खुराम शाहजाद र फहिम अशरफले १–१ विकेट लिए । पाकिस्तान र अष्ट्रेलियाबीच तीन टेस्ट खेलको सिरिज हुनेछ ।
प्रतिक्रिया