
ललितपुर । नेपाल सुपर लिगको ५०औँ खेल आज हुँदै छ । लिगको ५० औँ खेलमा ललितपुर सिटीले झापाको सामना गर्ने तालिका छ । झापाले अघिल्लो खेलमा मात्र पहिलो जित दर्ता गरेको थियो । त्यो नै उसले लिगमा जोडेको पहिलो तीन अंक थियो ।
यता, अपराजित रहे पनि तीन खेल बराबरीमै रोकिएको ललितपुर आज जित दर्ता गरेर शीर्षस्थानमा रहने योजनामा छ । पाँच खेलबाट नौ अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा छ ।
ललितपुरले लिगमा लगातार सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेको छ । उसका जेफरे बाल्टुस, ओमोलोजा करिम र निखिल कदम निकै उत्कृष्ट छन् । नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ ।
तर झापालाई प्ले अफमा स्थान बनाउन जित्नै पर्ने बाध्यता छ । किनभने उसका अबका बाँकी खेल शीर्ष चारभित्र रहेका टिमसँग छन् । त्यसै कारण झापा पछिल्लो जितको ऊर्जालाई कायम राख्दै आज जित दर्ता गर्ने योजनामा रहनेछ ।
चोट लागेका मार्की खेलाडी अञ्जन विष्ट मैदान फर्किएसँगै व्यवस्थापनको कमजोरीका बाबजुद पनि झापा फर्मा रहेको प्रशिक्षकले बताएका छन् । अहिले लिगमा ११ अंक बनाएको धनगढी तालिकाको शीर्षस्थानमा छ ।
समान आठ-आठ अंक भएका काठमाडौं र पोखरा थन्डर्स तेस्रो र चौथो स्थानमा छन् । सुपर लिगमा आज धेरै दर्शकको अपेक्षा गरिएको छ । ५० खेल पुगेको उपलक्ष्यमा सुपर लिगले टिकट मूल्यमा ५० प्रतिशत छुट दिने बताएको छ।
प्रतिक्रिया