
काठमाडौं । युवा अलराउन्डर अप्सरी बेगमको अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराएको छ । पहिलो खेलमा कर्णालीलाई १० विकेटले हराएको कोशी अंक तालिकामा शीर्ष स्थानमा छ ।
जितको लागि ८८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कोशीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा अप्सरी बेगमले ५४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाइन् ।
काजोल श्रेष्ठ ५१ बलमा ३ चौका र १ छक्कासहित ४१ रनमा नट आउट रहिन् । अश्मिना कर्माचार्यलाई छक्का हान्दै काजोलले खेल सकाएकी थिइन् ।
ओपनर रुविनालाई २ रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि अप्सरी र काजोलले ८२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बागमतीकी संस्कृति फुँयाल र सोनी पाख्रिनले १–१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । बागमतीकी यसोदा विष्टले ५४ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । एक समय ८.२ ओभरमा २१-४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटका यसोदा र अश्मिना कर्माचार्यले ५५ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया