Pura Samachar

कोशी प्रदेश र एपिएफ क्लबकाे सहज जित

प्रकाशित: December 24, 2023
पूरा समाचार

कोशी प्रदेश र एपिएफ क्लबकाे सहज जित

भक्तपुर । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा कोशी प्रदेशले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ ।

आईतवार भएको पहिलो खेलमा कोशी प्रदेशले मधेश प्रदेशमाथि ६० रनको सहज जित हासिल गरेको हो ।

योसंगै जारी प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै कोशीले तालिकामा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

समान अंक रहेतापनि विभागिय क्लब एपिएफ नेटरन नेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता, कोशीसंग पराजयपछि मधेशले भने लगातार ३ खेलमै हारको नतिजा सामना गर्यो ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १३० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको मधेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र ६९ रन जोड्यो ।

मधेशका लागि साना प्रविनले ४१ बलमा ३ चौका प्रहार गर्दै २७ रन जोडेर अविजित रहँदा आरती महतोले २० बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किइन ।

मधेशका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सरस्वती चौधरी ७, अलिशा यादव ४, पूजा महतो ३, अनुराधा चौधरी र प्रतिमा शाह समान २–२ रन जोडेर आउट हुँदा भुमी सिंह, साक्क्षी यादव र कविता गौतम शुन्य रनमा पेविलियन फर्किइन् ।

मधेशले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

मधेशलाई सस्तैमा समेत्न कोशीका लागि अलिशा खदिया र सबनम राईले समान २–२ विकेट लिँदा कप्तान रुविना क्षेत्री र संगिता राईले १–१ विकेट हासिल गरिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको कोशी प्रदेशले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १२९ रन जोड्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६३ बलमा ९ चौका प्रहार गर्दै सर्वाधिक ५७ रनको अर्धशतकिय पारी खेल्दा अप्सरी बेगमले ४१ बल खेल्दै ७ चौका प्रहार गरेर ३९ रन जोड्दै आउट भईन् ।

त्यस्तै, सबनम राईले ८ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर अविजित रहँदा लकिता राजबंशी ६ रन जोडेर पेविलियन फर्किइन् ।

यता, नमिता श्रेष्ठ २ रनमा अविजित रहँदा विकेटकिपर काजोल श्रेष्ठ शुन्य रनमा पेविलियन फर्किइन् ।

कोशीले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

मधेश प्रदेशका लागि मिना महतोले ३ ओभर बलिङ गर्दा २७ रन खर्चिएर २ विकेट लिँदा पुजा महतो र सरस्वती चौधरीले समान १–१ विकेट लिईन् ।

उता, मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा विभागिय एपिएफ क्लबले लुम्बिनी प्रदेशमाथि ९० रनको फरालिको जित निकालेको छ ।

१५१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र ६१ रनमा समेतियो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले ४९ बलमा २८ रन जोड्दा सरस्वती चौधरीले १४ बल खेल्दै ९ रन जोड्दै पेविलियन फर्किइन् ।

लुम्बिनीका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेत्न एपिएफका लागि इन्दु बर्माले ३ विकेट लिँदा बिनु बुधाले २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १५१ रन जोड्यो ।

एपिएफका लागि इन्दु बर्माले ५१ बलमा सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ममता चौधरीले ५८ बल खेल्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै आउट भईन् ।

लुम्बिनीका लागि सरोस्वती पुन र सर्मिला रोक्काले समान १–१ विकेट लिईन् ।

प्रतिक्रिया