
काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेशका लागि बिहीबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्ने भएका छन् ।
प्रतियोगिताको दोस्रो क्वालिफायरमा ललितपुर र पोखरा भिड्न लागेका हुन् । विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार इलिमिनेटरमा काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुरले पोखरासँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित बनेको पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो ।
लिग चरणमा खासै चल्न नसकेको ललितपुरले इलिमिनेटरमा काठमाडौंविरुद्ध शानदार जित निकाल्यो । कागजमा बलियो देखिएको ललितपुरको वास्तविक खेल मंगलबार देखिएको थियो । प्रतियोगितामा अघि बढ्न ललितपुरले खोजिरहेको ‘ब्रेक थ्रु’ मंगलबार निस्किएको छ । तर दोस्रो क्वालिफायरमा त्यसले कत्तिको निरन्तरता पाउँछ, त्यो हेर्न बाँकी छ ।
पोखरा यस सिजन एनएसएलमा शानदार देखियो । उसले शीर्ष स्थानमा रहेर लिग टुङ्गयाएको थियो । तर क्वालिफायरमा उसले चाहे जस्तो नतिजा निस्किएन । निर्धारित र अतिरिक्त समयमा लिएको अग्रता मात्र उसले जोगाउन सकेन, पेनाल्टी सुटआउटमा समेत उसले अग्रतालाई गुमाएको थियो । टिम गेममा राम्रो देखिएको पोखरालाई एनएसएलको उपाधि दाबेदार टिमको रुपमा हेरिएको छ ।
प्रतिक्रिया