
एजेन्सी – हडर्सफिल्ड टाउन विरुद्ध सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार ५–० को फराकिलो जित निकाल्ने क्रममा सिटीका लागि फिल फोडेनले २ तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ गोल गरे ।
३३औं मिनेटमा सिटीले खेलमा अग्रता लिएको थियो । अल्भारेजको प्रहार डिफ्लेक्ट भएर फोडेनको खुट्टामा पुगेपछि उनले गोल गरे । ३६औं मिनेटमा नै सिटीले अर्को गोल गर्यो । म्याथियस नुनेसको पासमा बोबको प्रहारमा राम्रो सम्पर्क नभएपछि अल्भारेजले गोल गरे ।
५८औं मिनेटमा सिटीले फोडेनको पासमा बोबले गरेको प्रहार हडर्सफिल्डका बेन ज्याक्सनलाई लागेर क्रसबारमा लाग्दै पोस्ट भित्र छिरेको थियो । ६५औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । मटेओ कोभाचिचको पासमा फोडेनले बक्सको छेउबाट गोल गर्दै अग्रता ४–० बनाए ।
७४औं मिनेटमा डोकुले गोल गरे । करिब पाँच महिनापछि मैदान फर्किएका केभिन डि ब्रुइनको पासमा उनले गोल गरेका थिए । यस्तै आइतबारका अन्य खेलमा वेस्ट ब्रोम, रेक्सह्याम, लिड्स युनाइटेड विजयी हुँदै चौथो चरण प्रवेश गरेका छन् ।
प्रतिक्रिया