Pura Samachar

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

प्रकाशित: January 16, 2024
पूरा समाचार

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि अर्जुन साउदले ६२ रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाउँदा दिलिप नाथले ३१ रनको योगदान गरे ।

कोशीका लागि कमल खत्रीले २ विकेट हात पार्दा सोनु मण्डलले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशीका लागि सन्जु थपलीयाले १०५ रनको शतकीय पारी खेले ।

१२६ बल खेलेका उनले ६ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै समिर कार्कीले २३ रन बनाउँदा अंकित सुवेदीले १० रन जोडे ।

पुलिसका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए ।

लगातार दोस्रो जित निकालेको पुलिस २ खेलबाट ४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एपीएफको पनि २ अंक छ ।

प्रतिक्रिया