Pura Samachar

बागमती प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा

प्रकाशित: January 22, 2024
पूरा समाचार

बागमती प्रदेश  प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा

कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ।

आज सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई तेस्रो हार चखाउने क्रममा बागमतीले चौथो जित निकालेको हो।
चार खेलमा जित र २ खेलमा हार भोगेको बागमती प्रदेश ८ अंकमा शीर्ष स्थानमा छ। प्रतियोगितामा अपराजित रहेका सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब समान ३ खेलमा जित निकाल्दै ६ अंकमा दोस्रो र तेस्रो स्थानमा छ।

कर्णाली प्रदेशले दिएको ७९ रनको झिनो लक्ष्य बागमती प्रदेशले १३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

बागमतीका लागि इसान पाण्डेले सर्वाधिक ४० रनको योगदान दिए। उनले ३६ बलमा ३ चौका र ३ छक्का हाने।
आशुतोष घिरैयाले १८ र कप्तान रित गौतमले ८ रन बनाए। रविन जोशी १६ र अशोक पौडेल ६ रनमा नटआउट रहे।
कर्णालीका दिवान पुनले ३ विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २४.२ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो।

कर्णालीका अर्जुन घर्तीले बनाएको २३ रन नै सर्वाधिक रह्यो। निश्चल रावलले १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कर्णालीलाई कम स्कोरमा रोक्न रिजन ढकालले ५ विकेट लिए। घातक बलिङ गरेका उनले ७ ओभरमा १ मेडन राख्दै २५ रन खर्चे। कृजन गुरुङले २ विकेट लिए। प्रतिश जिसी, सुर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिए।

प्रतिक्रिया