Pura Samachar

न्युजिल्याण्डकाे लगातार दोस्रो जित

प्रकाशित: January 23, 2024
पूरा समाचार

न्युजिल्याण्डकाे लगातार दोस्रो जित

काठमाडौँ : १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो खेल जितेको छ।

आज (मंगलवार) भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै न्युजिल्याण्डले दोस्रो खेल जितेको हो।

जितका लागि अफगानिस्तानले प्रस्तुत गरेको ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले २८ ओभर २ बलमा ९ विकेट गुमाएर भेट्टायो।

न्युजिल्याण्डको जितमा कप्तान ओस्कर ज्याक्सनले ४५ बलमा २६ रन हाने। यो नै न्युजिल्याण्डका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

एल स्ट्याकपोलले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्याण्डले अतिरिक्तबापत २४ रन पायो।

अफगानिस्तानका लागि एएम गजनफरले ३ विकेट लिए भने खलिल अहमद र अरब गुलले २/२ विकेट लिए।

त्यसअघि पूर्वी लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तान २१ ओभर ३ बलमा नै अलआउट हुँदै ९१ रनमा समेटिएको थियो।

अफगानिस्तानका लागि जमशीद जाद्रानले सर्वाधिक २२ र अरब गुलले १० रन हान्नुबाहेक अन्य कुनै पनि अफगानी ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

तर अफगानिस्तानले आफ्ना ब्याट्सम्यानले बनाएको रनभन्दा बढी अतिरिक्त रन पाएको थियो। उसले अतिरिक्त २५ रन पाएको थियो।

न्युजिल्याण्डका लागि म्याट रोले ५ विकेट‚ र्‍यान सोर्गास र एवाल्ड स्रोडरले २/२ विकेट तथा कप्तान ओस्कार ज्याक्सनले १ विकेट लिए।

आजको खेलमा जितसँगै न्युजिल्याण्ड ४ अंकसहित समूह डीको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि पाकिस्तानसँग पराजित भएको अफगानिस्तानको यो लगातार दोस्रो हार हो। दोस्रो खेल सकिँदासम्म जितविहीन रहेको अफगानिस्तानले कुनै अंक जोड्न सकेको छैन।

प्रतिक्रिया