
एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा सिरियाले भारतमाथि जित हासिल गर्दै गरेको छ ।
मंगलवार साँझ भएको खेलमा सिरियाले भारतमाथि १–० को जित हासिल गरेको हो ।
कतारस्थित अल ब्येट रंगशालामा भएको खेलमा ओमार कर्बिनले सिरियाका लागि विजयी गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७६ औं मिनेटमा इब्राहिम हेसारको असिस्टमा ओमारले निर्णायक गोल गरे ।
महत्वपूर्ण जितसंगै सिरियाले समूह चरणको ३ खेलमा १ मा जित १ मा हार र १ मा बराबरीको नतिजा आत्मसाथ गर्दै ४ अंक जोड्दै समूह ‘बी’ को तेस्रो स्थानमा रह्यो ।
योसंगै समूहको उत्कृष्ट ३ मा पर्दै सिरिया प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।
भारत भने समूह चरणको ३ वटै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
यता, अल जानोब रंगशालामा भएको सोहि समूहको अर्को खेलमा अष्ट्रेलिया उजबेकिस्तानसंग १–१ को बराबरीमा रोकिएको छ ।
पहिलो हाफको अन्त्यतिर मार्टिन बोइलेको पेनाल्टी गोलमार्फत् अष्ट्रेलियाले सुरुवाती अग्रता लियो ।
तर, दोस्रो हाफको ७८ औं मिनेटमा अजिजबेक तुर्गउनबोयभको गोलमार्फत् उजबेकिस्तन खेलमा फर्कियो ।
त्यसपछि खेलमा थप गोल नभएपछि खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले अंक बाँड्यो ।
समूह चरणको खेल सकिँदासम्म अष्ट्रेलियाले ३ खेलमा २ मा जित र १ मा बराबरीको नतिजा निकाल्दै ७ अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गर्यो ।
त्यस्तै, उजबेकिस्तानले पनि ३ खेलमा १ मा जित र २ मा बराबरीको नतिजा निकाल्दा समूह तालिकामा ५ अंक जोड्दै समूह उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो ।
प्रतिक्रिया