Pura Samachar

प्रधानमन्त्री कप एकदिवसीयमाआज तीन खेल हुँदै

प्रकाशित: January 25, 2024
पूरा समाचार

प्रधानमन्त्री कप एकदिवसीयमाआज तीन खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा बिहीबार पनि तीन खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। गण्डकी पाँचमध्ये दुई खेल जितेर ४ अंकसहित तालिकाको आठौँ र मधेश सातमध्ये चार खेल जितेर ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।

सवा ९ बजे नै मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्दैछन्। सात खेल खेलेको बागमती आफ्ना चार खेलमा जित निकालेर ८ अंकसहित चौथो स्थानमा रहँदा सुदूरपश्चिम भने पाँचमध्ये चार खेल जितेर ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

त्यसअघि भैरहवाको सिद्धार्थनगर मैदानमा बिहान ९ बजे शुरु हुने खेलमा सशस्त्र बलको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा  पाँचमध्ये दुईमा जित निकाल्दै ४ अंक जोडेको एपीएफ सातौँ स्थानमा छ भने ४ खेल खेलेर एकमा मात्र जित निकालेको लुम्बिनी २ अंकसहित नवौँ स्थानमा छ।

१० टोली सहभागी प्रधानमन्त्री कप क्रिकेटमा अपराजित नेपाल पुलिस क्लब पाँच खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहँदा आठ खेलमा एक जित पनि निकाल्न नसकेको कोशी प्रदेश अंकविहीन रहँदै अन्तिम स्थानमा छ।

प्रतिक्रिया