Pura Samachar

दक्षिण कोरिया र बहराइन अन्तिम १६ मा

प्रकाशित: January 25, 2024
पूरा समाचार

दक्षिण कोरिया र बहराइन अन्तिम १६ मा

एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा उपाधि दावेदार मोनिएको दक्षिण कोरिया तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी मलेसियासंग बराबरीमा रोकिएको छ ।

विहिवार साँझ भएको खेलमा २३ औं फिफा वरियता रहेको दक्षिण कोरिया १३० औं वरियतामा रहेको मलेसियासंग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

अल जानोब रंगशालामा भएको खेलमा कोरियाका लागि कप्तान सन ह्युङ मिन र जियोङ उ यओङले गोल गर्दा मलेसियाका सिहान हाज्मीले आत्मघाती एक गोल उपहार दिए ।

यता, मलेसियाका लागि फैसल हलिम, आरिफ अ‍ैमान र रोमेल मोरालिसले गोल फर्काए ।

रोमाञ्चक खेलको २१ औं मिनेटमा लि काङ इनको पासमा जियोङ उ यओङले गोल गर्दै कोरियालाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ५१ औं मिनेटमा फैसल हलिमले मलेसियाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, ६२ औं मिनेटमा आरिफ अ‍ैमानले गोल गर्दा मलेसिया सनसनी रुपमा २–१ ले अघि बढ्यो ।

तर, ८३ औं मिनेटमा कोरियाका लि काङ इनको सशक्त फ्रिकिक प्रहार बचाउने क्रममा मलेसियाका गोलकिपर हिान हाज्मीले आत्मघाती गोल गर्न पुग्दा कोरिया २–२ को बराबरीमा आयो ।

त्यसपछि निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको चौथौं मिनेटमा सन ह्युङ मिनले पेनाल्टीमा गोल गर्दै कोरियालाई ३–२ ले अघि बढायो ।

तर, इन्जुरी समयको १५ औं मिनेटमा मलेसियाका पाउलो जोसेउको असिस्टमा रोमेल मारालेसले दर्शनिय गोल गर्दा खेल ३–३ को बराबरीमा सकियो ।

यता, दक्षिण कोरियाले समूह ‘इ’ मा १ जित र २ बराबरी गर्दै ५ अंक जोडेर समूह उपविजेता बन्दै अघिल्लो चरण तय गर्यो ।

बलियो कोरियालाई बराबरीमा रोकेको मलेसियाले भने ३ खेलबाट १ अंक जोड्दै तालिकाको पुच्छारमा रहँदै एसियन कपको यात्रा टुंग्याएको छ ।

एता, खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको सोहि समूहको अर्को खेलमा बहराइनले जोर्डनलाई १–० ले पराजित गर्यो ।

बहराइनको जितमा खेलको ३४ औं मिनेटमा अब्दुल्लाह युसुफ हेलालले निर्णायक गोल गरे ।

महत्वपूर्ण जितसंगै बहराइनले ३ खेलबाट ६ अंक जोड्दै समूह विजेता बनेको छ ।

बहराइन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।

उता, पराजित जोर्डनको ३ खेलबाट ४ अंक छ ।

जोर्डन पनि बेस्ट अफ थ्री अनुसार अन्तिम १६ मा छनोट भएको छ ।
समूह ‘इ

प्रतिक्रिया