Pura Samachar

अष्ट्रेलिया, श्रीलंका र जिम्बावे सुपर सिक्समा प्रवेश

प्रकाशित: January 28, 2024
पूरा समाचार

अष्ट्रेलिया, श्रीलंका र जिम्बावे सुपर सिक्समा प्रवेश

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि सहज जित निकालेको छ ।

आईतवार भएको समूह चरणको २४ औं खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि ६ विकेटको सहज जित निकालेको हो ।

सहज जितसंगै अष्ट्रेलियाले समूह चरणमा शतप्रतिशत जित हासिल गर्दै ६ अंक जोडेर समूह ‘सी’ को समूह विजेता बन्यो ।

पराजित श्रीलंकाले ३ खेलमध्येमा २ मा जित र १ मा हारको नतिजा निकाल्दै ४ अंक जोडेर समूह उपविजेता बन्यो ।

यस समूहबाट अष्ट्रेलियासंगै श्रीलंका र जिम्बावे सुपर ६ मा प्रवेश गर्यो ।

नर्डन केपस्थित दि बियर्स डाइमन्ड ओभल रंगशालामा भएको खेलमा २०९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ४८.५ ओभरमा ४ विकेट गुमाउँदै २११ रन जोड्यो ।

अष्ट्रेलियाको जितमा रायन हिक्सले १०४ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ७७ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर साम कोनस्टासले ४६ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा हरजस सिंहले १७ र कप्तान हग वाइबगेनले ३ रन जोडेर पेविलियन फर्किए ।

यता, टम इडवार्ड क्याम्पबेलले ४१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन जोडेर अविजित रहे ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

श्रीलंकाका लागि विश्वा कुमाराले २ विकेट लिँदा कप्तान सेनिथ जयवर्डेने र माल्शा थारुपाठीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २०८ रन जोड्यो ।

श्रीलंकाका लागि दिनुरा कालुपाहानाले ७८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेल्दा रबिशान नेथसाराले ४२ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ३० रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर शरुजन शानमुगानाथनले २८ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा सुपुन वाडुगेले ४४ बल खेल्दै १ चौका मद्दतमा १७ रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान सेनिथ जयवार्डेनेले ३६ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोड्दै आउट हुँदा रुसान्डा गमेज, माल्शा थारुपाठी र रुविशान परेराले समान १० रन जोडेर पेविलियन फर्किए ।

विश्वा कुमारा ६ र पुलिन्दु पेरेरा शुन्य रनमा पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा २४ रन जोड्यो ।

श्रीलंकालाई अलआउट गर्न कल्लुम भिड्लेरले ३ विकेट लिँदा माह्ली बियर्डम्यान र टम इडवार्ड क्याम्पबेलले समान २–२ विकेट लिए ।

त्यस्तै, टम स्ट्राकेर, राफायल म्याकमिलान र हरजस सिंहले समान १–१ विकेट लिए ।

प्रतिक्रिया